आँखामा आँसु कसको हो ?
नयाँ पत्रिकाबाट
काठमाडौं, १९ माघ
नेपाली र भारतीय संगीतको फ्युजनलाई आत्मसात् गर्दै सान्निध्य ब्यान्ड दिल्लीमा रमिरहेको छ । ब्यान्ड सदस्यका केही सपना नेपाली छन् भने केही हिन्दी 'अभिव्यक्तिको सबैभन्दा शक्तिशाली माध्यम हो संगीत,' गीत पछिको तररर तालीको चर्को ध्वनिपछि गायक प्रवेश मल्लिकले भने, 'युगौँदेखि समाजमा दबिएर रहनेको स्वर गीतबाटै सुनाइँदै आइएको छ ।'
नयाँदिल्लीस्थित राष्ट्रिय नाटय विद्यालयको आँगनमा १२आँै अन्तर्राष्ट्रिय थिएटर उत्सव चलिरहँदा प्रवेश मल्लिक र उनका साथीहरू गीतबाटै साढे २ डिग्री चिसोका बीच सयौँ दर्शकलाई तताइरहेका थिए । कुहिरोले ढपक्कै ढाकेको विचित्रको संसारमा एउटा सांगीतिक ब्यान्ड चर्को म्युजिकका साथ दर्शक भुलाउँदै थियो । कन्सर्ट कति भव्य थियो भने उनीहरूले गाएको प्रत्येक गीतमा दर्शक मुग्ध थिए । र, भन्दै थिए, 'वान्स् मोर, वान्स् मोर !'
दिल्लीमा गाइएका ती गीतमा नेपालका भिरपहरा र हाटतिर घन्किने लोकगीतको झल्को मिल्थ्यो । तर, गीतको भाषा भने हिन्दी थियो । घाँस काट्दै साइँलीहरूले गाउने गीतको जस्तै भाका उनीहरूको गलामा सुनिन्थ्यो । लोकसंगीतबाट आफ्नो प्रस्तुति सुरु गरेको दिल्लीको यो सान्निध्य ब्यान्डले जनकपुरमा प्रचलित मैथिली लोकगीत र हिन्दीको फयुजन गरेको थियो । ब्यान्डले नेपाली लोकधुन मिसिएका ६ गीत सुनायो । कन्सर्ट सुरु भएपछि ओइरिन थालेका दर्शक कार्यक्रम सकिँदासम्म घटेनन्, बरु आइरहे । मध्यरातमा बलेका रंगीन बत्तीहरूबीच दर्शकले ब्यान्डलाई साथ दिइरहे ।
जनकपुरमा 'अब गीतबाटै केही गर्ने' भनेर थालिएको अभियान देशभन्दा टाढा दिल्लीसम्म आइपुग्यो । संगीतको छालमा बग्दै पराई भूमिमा आइपुगेका यी नेपाली संगीतकर्मीलाई सुन्न दिल्लीमा सधैँ यत्तिकै दर्शक झुम्मिन्छन् । तर, यो सफलतासम्म आइपुग्नुमा धेरै लामो संघर्षको कथा छ । 'इन्डो-नेपाली ब्यान्ड' भन्दै आफ्नो परिचय फुकाउनुपरेकै छ उनीहरूलाई । संगीतका छालले घरिघरि हुत्याइँदा पाएको आतेस पनि पि्रय लागेकै छ तिनलाई ।
'संगीत पढ्न' नौ वर्षअघि दिल्ली पुगेका थिए जनकपुरका यी चारजना ठिटा । संघर्षका दिन सम्भिए प्रवेश मल्लिकले, 'पढाइ सकिएपछि यहाँका केही कार्यक्रममा हामीले मैथिली लोकसंगीत प्रस्तुत गर्न थाल्यौँ,' ब्यान्डका प्रमुख भोकलिस्ट मल्लिक सुनाउँछन्, 'यहाँ नेपाली भएरमात्रै टिक्न सजिलो थिएन । हामी सँगै पढेका पाँचजना भारतीय साथीहरूलाई पनि मिसाएर नौजनाको 'फोक फयुजन ब्यान्ड' बनायौँ । त्यही ब्यान्डको नाम सान्निध्य राखियो । यसरी जोडिएका यी नेपाली र भारतीयको जोडी अहिलेसम्म यति कसिलो छ कि उनीहरू गीत रियाजबाहेकका अरू समय पनि सँगै हुन्छन् । यो इन्डो-नेपाल ब्यान्डले दिल्लीमा मात्रै होइन, भारतका अन्य प्रान्तमा आफ्नो नाम र कृति फैलाइसकेको छ ।
'मेरो सपना त दिल्लीमै मैथिली ब्यान्ड खोल्ने थियो,' ब्यान्डका भोकलिस्ट, संगीतकार, किबोर्डिस्ट तथा एरेन्जर उनै मल्लिकले सुनाए, 'मेरो सपना पछि सान्निध्य भएर पो निस्कियो ।' दिल्ली विश्वविद्यालयबाट संगीतमा एमम्युज पूरा गरेपछि त्यहीँ आफ्ना सपना खोज्न थाले उनले । 'अब त संगीत हाम्रो सास फेराइ भइसकेको छ,' उनले सुनाए, 'दिनचर्या नै भनिदिए हुन्छ संगीतकर्म हाम्रा लागि । हाम्रो मनले पाएको दिव्य सुख पनि यही संगीत हो ।'
ताल छन् गीतका, गायनका, सुरका । अहिलेलाई तालमा मुग्ध हुनुपर्नेछ उनीहरूले । संगीतको अलाप बिस्तारै जिन्दगी बाँच्ने बाटो बन्दै छ मल्लिकको । 'अब त संगीतमै जिन्दगी खोज्नु छ,' मल्लिकले भने, 'हामी कति टाढा आइपुग्यौँ भने अब यहाँबाट छुट्टएिर बस्न पनि सक्दैनौँ ।'
मल्लिकसँगै दिल्लीमा स्तातकोत्तर सकेका उनका भाइ रमेश र साथीहरू रश्मिरञ्जन झा, ललित कामत पनि त्यही ब्यान्डका सदस्य हुन् । रमाइलो कुरा के भने यी चारैजना जनकपुरधामवासी हुन् । र, उनीहरू सबैको लक्ष्य पनि संगीत ब्यान्ड खोल्ने नै थियो । खुलाआँखाले देखेको त्यो सपना आज पूरा भएको छ र आफैँ बाटो खोज्दै छ त्यो सपनाले । 'यो सपना दिल्लीमा आएर पूरा भयो, यसमा हामी खुबै खुसी छौँ,' मल्लिक निकै खुसी देखिए ।
उनीहरू संगीतमा सुस्ताए केही बेर, हराए केही समय । अतीतको संगीतप्रतिको लगाव र स्मृतिले अहिलेसम्म उनीहरूलाई ऊर्जा दिइरहेछ । 'यसको स्पर्शले रुझेजस्तो हुन्छु हिउँदमा, ओभाएजस्तो हुन्छु बर्खामा,' मल्लिक कुनै भावुक कविझैँ बोल्न थाले, 'मान्छेको हृदय छुनु छ भने गीत, स्वर र नादमा प्रकम्पित पार्नुपर्छ । मान्छेका मन उजिल्याउनु छ भने शब्द, अलंकार र कोमल शब्दका किनारमा उभ्याउनुपर्छ- यो मेरी आमाले भन्नुभएको ।' हो त, आमाले दिनुभएको अर्ति मल्लिकले जीवनमा नबिर्सने भए ।
सान्निध्यमा उत्तराञ्चलका सुधीर रिखारी -भोकलिस्ट), कोलकाताका अनिरुद्र सोम -भ्वायलिन/हार्मोनियम/भोकलिस्ट), दिल्लीका मोहम्मद फहिम (भोकलिस्ट/लिरिक्स), भोपालका उज्जेयन मिलिन्द त्रिवेदी (ड्रमर) र ब्याङ्लोरका जुड म्यानुयल (बेस गिटारिस्ट) मा छन् । 'नेपाली, मैथिली र भारतका विभिन्न लोकधुन मिसाएर गीत प्रस्तुत गर्नु हाम्रो रहर हो,' मोहम्मद फहिमले सुनाए ।
प्रवेश मल्लिकले विभिन्न भाषाका करिब एक दर्जन एल्बममा आफ्नो स्वर दिइसकेका रहेछन् । रमेशरञ्जनले भने नेपाली सर्ट फिल्म र मैथिली फिल्म र भारतका थुप्रै बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा पनि संगीत दिइसकेका छन् ।
ब्यान्डका सदस्य मोहम्मद फहिम कवि रहेछन् । आफैँ गीत लेख्ने र गाउने उनी कविता र सायरीमा जिन्दगी खोज्छन् । घरमा आमाले बजाएको मुरलीको धुन सुनेर संगीतमा जिन्दगीको अर्थ खोज्न थाले उनले । सानैमा पढेको सर्वेश्वरदयाल सक्सेना, केदारनाथ सिंह, अवतारसिंह पासका कविताले 'यो कविता भन्ने चिज पनि गजबै हुँदोरहेछ' भन्ने पर्यो उनको कलिलो मगजमा । कवितामा आफूलाई भुलाउन र संगीतका धुनले मन बहलाउन थालेकैले आफू 'हल्काफुल्का' कवि बनेको उनलाई लाग्छ । उनले एउटा सायरी सुनाए, 'आँखामा आँसु कसको हो ?'-
आँखोमेँ आँसु किस्के हे
कानोमे चिखे गुञ्जिरही
ये गोदेँ किस्के उजडी हे
मातममे बैठेँ वो कोन हेँ
उनलाई मनपर्ने गायक तथा संगीतकार एआर रहमान हुन् । 'मैले गाएको र गरेको साधनाभन्दा भिन्न एआर रहमानले रिमिक्स गरेको भजन सुन्दा आज आफूलाई फरक आकाशमुनि उभ्याएको पाउँछु,' फहिम सुनाउँछन्, 'त्यसमा जीवनप्राप्तिको धुन छ ।'
अरू कलाकार 'हिट' हुन मुम्बई पुग्छन् । तर, यिनीहरू किन दिल्लीतिरै ? 'दिल्लीमा सफल भएपछि मुम्बईमा गएर संघर्ष गरिरहनु पर्दैन । विचार गरिल्याउँदा मुम्बईको काम दिल्लीमै बसेर गर्न सकिन्छ भन्ने लाग्यो,' मल्लिकले भने । नेपाली र भारतीय संगीतको फयुजन गरेर उनीहरूले सिर्जेका नौला धुनले सान्निध्य ब्यान्ड दिल्लीमा साह्रै नौलो देखापरेको छ । 'हामीले आफ्नै ब्यान्डबाट मात्रै डेढदर्जन गीत तयार गरेका छौँ,' मल्लिकले भने । उनीहरू नयाँ एल्बमको तयारीमा पनि रहेछन् । भारतमा दर्जनभन्दा बढी कन्सर्ट गरिसकेको यो ब्यान्डको काठमाडौंमा कन्सर्ट गर्ने रहर छ । 'हामी कति सफल हुन्छौँ, हेर्दै जाऊँ,' फहिम बोले ।
सान्निध्य इन्डो-नेपाल ब्यान्ड बनेर 'हिट' बन्दै गएकोमा फहिम अझै धेरै खुसी छन् । 'लोक फयुजनमात्रै होइन, कविता, भजन, सुफीलाई कम्पोज गरेर पनि हामी छिट्टै अरूमाझ चिनियौँ,' फहिमले सुनाए । उनीहरू आउँदा वर्षहरूमा निकै पैसा कमाउन सकिने कल्पन्छन् । र, ब्यान्डलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सपना देख्छन् । 'हाम्रो यो रहर हो र लक्ष्य पनि,' मल्लिकले सुनाए, 'हाम्रो सफलता समयको वेगमा छ ।'
साँझ बास बस्न बतासिएका जुरेली र गौँथलीका सुर आज 'पपवाला' जंंगली गुरिल्लाको चेपुवामा परेका छन् । विदेशी गीतको चर्को अतिक्रमणले हाम्रो गोठ र खोरमा सुनिने 'आफ्ना गीत' बिस्तारै सल्किँदै छन् । हामीले चिच्याइचिच्याई अर्काको संस्कृतिलाई गायौँ । तर, यो ब्यान्ड विदेशी भूमिमा पनि आफ्नै संस्कृति मिसाइरहेछ- मैथिली संस्कृति । संगीतका बाटाहरू निरन्तर विखण्डित छन् । कतै उनीहरू पनि ठूलाको घानमा हराउने वा विखण्डित हुने त होइनन् ? 'हामी नदी हौँ नि, तर अस्तित्व दाउमा राखेर समुद्रमा पस्ने एउटा अभियान छेडिरहेछौँ । यो भूल रहेछ भन्ने थाहा भएको दिन हामी सबै सँगै बसेर रुनेछौँ,' लामो दाह्री पालेका फहिमका यी शब्द नोट गर्दै गर्दा रात गाढा भइसकेको थियो, 'हामी अटल किन नहुने ? हामी ढुंगा हौँ । शान्त चट्टानमा पनि संगीत हुन्छ नि !'
आजका पत्रपत्रिकाबाटमा थप सामग्री