त्रिकोणात्मक प्रेमको कथा
कान्तिपुरबाट
काठमाडौ, २०६६ २१ माघ
यो दुनियाँमा तपाईंलाई आफ्नो ठान्ने कति जना होलान् ? अनि तपाइ कतिजनालाई आफ्नो ठान्नु हुन्छ ? नेपाली कथानक फिल्म 'आफ्नो मान्छे आफ्नै हुन्छ,' ले तपाईंलाई केही आइडिया दिनसक्छ । 'सकारात्मक आँखाले हेरे सबै सकारात्मक देखिने' मुख्य थिम बनाएको फिल्म फागुन २१ गतेबाट मोफसलका झन्डै २५ वटा हलबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।
'पोजेटिभ आँखाले हेर्नेहरूका लागि यो संसार माया, प्रेम र सद्भावले भरिएको छ,' फिल्मका निर्देशक ऋषि लामिछानेले भने, 'व्यक्तिको सामान्य सोचाइ र त्यसबाट निर्देशित हुने उसका व्यवहारलाई नै देखाउन खोजिएका छौं ।' भदौ पहिलो हप्ता सुटिङ थालेको फिल्मको छोटो समयमै सम्पूर्ण निर्माण सकेर प्रदर्शनमा आउन लागेको हो । लामिछानेका अनुसार फिल्म खासगरी सहरको सडकमा हुर्के बढेको एक टुहुरोको जीवनमा आधारित छ, जसमा विराज भट्टले अभिनय गरेका छन् । फिल्ममा अग्नि बनेका विराज नै केन्द्रीय पात्र हुन्, उनी पहिलोपटक 'एक्सनप्रधानसँगै सेन्टिमेन्टल भूमिकामा देखिने' ऋषिले दाबी गरे ।
'धेरैले विराज भन्नेबित्तिकै एक्सन हिरो सम्भिmन्छन्' उनले भने, 'तर उनमा सेन्टिमेन्टल भूमिकामा जम्ने पनि उत्तिकै क्षमता छ । 'आफ्नो मान्छे आफ्नै' हुन्छ विराज एक्सन र सेन्टिमेन्टल दुवै भूमिकामा हुनेछन् ।' चुलबुले र आइटल गर्लको छवि बनाएका नायिका रेखा थापा विराजको प्रेमीको रूपमा छन्, जसले पहिलोपटक सर्पसँग नृत्य गरेकी छन् । 'यो पनि नयाँ प्रकारको आइटम डान्स हुनेछ' ऋषिले दाबी गरे, 'तर, कथाले माग गरेभन्दा बढी आइटम र रमझम भने छैन ।'
काठमाडौं आसपासमा छायांकन गरिएको फिल्ममा अरुणिमा लम्साल, मुकेश ढकाल, रवि गिरी, देशभक्त खनाल, दिनेश डिसी, इशान राउत, निर्मल शर्मा, अन्जु केसीलगायतको अभिनय छ । अरुणिमा -गि्रष्मा) पनि विराज -अग्नि) कै सहयोगीको भूमिकामा छिन्, जसकारण फिल्ममा त्रिकोणात्मक प्रेमको छनक पनि आउँछ । 'सबैलाई आफ्नो ठानौं, सबैलाई सद्भाव र प्रेमपूर्ण व्यवहार गरौं भन्ने देखाउन खोजिएको हो' विकास आचार्यको कथा रहेको फिल्मबारे ऋषिले भने, 'त्रिकोणात्मक प्रेमको सन्दर्भ भए पनि यो बिछोडपूर्ण अन्त्य रहेको फिल्म भने होइन ।'
उनका अनुसार सुरुमा अग्नि -टुहुरो पात्र) ले सबैलाई आफन्त ठान्छन् तर उनी चाहिँ परित्यक्त हुन्छन्, निराश हुन्छन् । समय बदलिन्छ, अग्निको आफन्तहरूको ठूलो संसार बन्छ । 'आशावादी सन्देश दिन खोजिएकाले' ऋषिले भने, 'फिल्मको अन्त्य पनि त्यस्तै छ ।' पीएलएम फिल्मसो ब्यानरमा निर्मित फिल्ममा महेश खडकाको संगीत, वसन्त श्रेष्ठको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ भने मुनाल घिमिरे, प्रकाश घिमिरे र लक्ष्मण पौडेल फिल्म निर्माण गरेका हुन् ।
फिल्म पोखरा, नेपालगन्ज, दाङ, बिर्तामोड, चितवन, वीरगन्जलगायतका हलबाट एकैपटक प्रदर्शन आउन लागेको हो । 'परिचय' लगायतका झन्डै एक दर्जन टेलिसिरियल निर्देशन गरिसकेका ऋषिको यो दोस्रो फिल्म हो । यसअघि उनले 'कहीँ मिलन कहीँ बिछोड' निर्देशन गरिसकेका छन् । निर्माताहरूको पनि यो पहिलो प्रयास हो । 'सम्बन्ध र सम्पर्कहरू नहुँदा सुरु-सुरुमा निकै गाह्रो हुँदोरहेछ,' ५० लाख लगानी रहेको दाबी गर्दै निर्मातामध्ये एक मुनाल घिमिरेले भने, 'अब अनुभवी भइयो । एकैपटक २५ हलमा प्रदर्शन हुने हुँदा निकै हौसिरहेका छौं ।'
आजका पत्रपत्रिकाबाट - थप सामग्री